रणभूमिदेखि शिखरसम्म: हरि बहादुर बुढा

रणभूमिदेखि शिखरसम्म: हरि बहादुर बुढा मगर"
हरि बहादुर बुढा (हर्क) को त्यो सन् २०१० को एउटा कहालीलाग्दो दिन थियो । अफगानिस्तानको रणभूमिमा युद्ध लड्दा-लड्दै एउटा भयानक बम विस्फोट भयो । जब धुवाँको मुस्लो हट्यो,तब रोल्पाका तन्नेरी गोर्खा सैनिक हरि बहादुर बुढा मगरले आफ्ना दुवै खुट्टा सदाका लागि गुमाइसकेका थिए । सन् १९९९ मा गौरवका साथ ब्रिटिश गोर्खा सेनामा भर्ना भएका हरिका लागि घुँडाभन्दा माथिबाट खुट्टा काटिनु जीवनकै सबैभन्दा ठुलो बज्रपात थियो । त्यसपछिको समय उनको अगाडि अँध्यारो खाडल र गहिरो डिप्रेसनबाहेक केही देखिँदैनथ्यो ।
तर,जसको नशा-नशामा रोल्पाली मगरको रगत र गोर्खाली साहस बग्छ,उसलाई परिस्थितिको कुन चाहिँ आँधीले रोक्न सक्छ र ? हरिले हार मानेनन् । ह्वीलचियरमा थुनिएर आँसु बगाउनुको साटो उनले हिमालका गगनचुम्बी टाकुराहरूलाई आफ्नो नयाँ गन्तव्य बनाए । कृत्रिम खुट्टाको सहारा र बलियो आत्मबल बोकेर उनले त्यो असम्भव यात्रा सुरु गरे, जसले इतिहासकै पाना पल्टाइदियो ।
अनेकौँ कानुनी र शारीरिक अड्चनहरूलाई चिर्दै उनले सन् २०२३ मा सगरमाथाको सफल आरोहण गरे । उनी घुँडाभन्दा माथि दुवै खुट्टा गुमाएर पनि संसारको सर्वोच्च शिखर चुम्ने विश्वकै पहिलो व्यक्ति बनेर इतिहासमा अमर भए । हरिको यो विजययात्रा सगरमाथामै रोकिएन । हालै सन् २०२६ को सुरुवातमा अन्टार्कटिकाको कठाङ्ग्रिँदो ठन्डीमा माउन्ट भिन्सनको सफल आरोहण गर्दै उनले विश्वका सातै महादेशका अग्ला हिमालहरू (Seven Summits) आरोहण गर्ने दुर्लभ सफलता समेत आफ्नो नाममा गराए ।
उनको यो अद्वितीय साहस र मानव जातिकै शिर उँचो बनाउने योगदानको कदर गर्दै बेलायत सरकारले उनलाई प्रतिष्ठित MBE (Member of the Order of the British Empire) पदबाट सम्मानित गरिसकेको छ ।
​"शारीरिक अपाङ्गता हुनु भनेको जीवन सकिनु होइन" भन्ने बलियो उदाहरण बन्दै आज उनी संसारभरिका लाखौँ निराश आँखाहरूका लागि आशाका किरण बनेका छन् । हरिको यो कथाले सधैँ एउटै कुरा सिकाउँछ- यदि मनमा अदम्य साहस छ भने,परिस्थिति जतिसुकै कठिन भए पनि संसार जित्न सकिन्छ ।
आदरणीय हरि बहादुर बुढा मगर ज्यू,
मगर जातिको इतिहास सधैँ वीरता,इमानदारिता र धर्तीसँगको गहिरो सामीप्यताले लेखिएको छ । तपाईँले रणभूमिको त्यो भयानक आँधीलाई जितेर सगरमाथा र अन्टार्कटिकाको चुचुरोमा जब पाइला टेक्नुभयो,तब रोल्पाको त्यो विकट माटो र समग्र मगर समुदायको पहिचान संसारकै सर्वोच्च उचाइमा पुग्यो ।
तपाईँको यो साहसले हाम्रो समुदायका हरेक पुस्तालाई आफ्नो भाषा,संस्कृति र पहिचानमा गर्व गर्ने एउटा नयाँ ऊर्जा दिएको छ । तपाईँ केवल हाम्रो जातिको गौरव मात्र हुनुहुन्न,तपाईँ त यो धर्तीकै अदम्य साहसको जीवित दस्तावेज हुनुहुन्छ ।
तपाईँको यो ऐतिहासिक विजययात्रालाई मगर समुदायका सम्पूर्ण सन्तानहरूको तर्फबाट जेरो, झोर्ले, सेमिपाउ !

Published

yesterday

Written by

Putha voice Nepal

Share this article

Tags

Keep Reading

Related Updates

View All Updates